मेरो पहिलो Espresso : थोरै कफी - धेरै अलमल

आम्मा हो, कस्तो तितो! मनमनै सोच्न थालें, "यति जाबो दुई थोपा, नमिठो कफीलाई पनि कति पैसा परेको होला? यसले मलाई मजाक नै गरेको हो!"

Inder Pun

9/22/20251 min read

अहिलेसम्म मेरो नाम थाहा पाइसक्नुभयो होला। तैपनि, मेरो नाम इन्द्र पुर्जा पुन हो, तर अंग्रेजीमा ‘Inder’ लेखिएको छ, यसको पनि आफ्नै छुट्टै कथा छ, पछि सेयर गरौँला। म पर्वत जिल्ला साविकको बाँसखर्क गा.वि.स. वडा नम्बर ५, हालको जलजला गाउँपालिका वडा नम्बर १ को हुँ।

म बाल्यकालमा एकदमै सोझो थिएँ। ३ कक्षासम्म सरकारी स्कुलमा पढेपछि, गाउँमा भर्खरै खुलेको अंग्रेजी बोर्डिङ स्कुलमा सबैजना जान थालेपछि, मैले धेरै कर गरेपछि आमा-बुबाले त्यतै लगाइदिनुभयो। तर, सुरु चाहिँ ‘ब्याक टु UKG’ बाट गरें। यसरी मैले विभिन्न ५ वटा स्कुल हुँदै २०६०/६१ सालमा एसएलसी सकेको हुँ।

लाहुरे परम्परा हाबी भएको हाम्रो समुदायमा, पढाइलाई नै अगाडि बढाउने माहौल थिएन। न त कोही त्यस्ता उदाहरणीय व्यक्तिहरू थिए, न त पढाइ गर्नुपर्छ भनेर प्रेरणा दिने कोही नै। साथीभाइ पनि सबै लाहुरे हुने सुरसारमा थिए। मलाई भने लाहुरे हुने खासै रहर थिएन। ‘लाहुरे हुनुपर्छ’ भनेर सबैले कर गरेकाले र पछि पछुतो नहोस् भनेर म दुई पटकसम्म भिड्न गएँ। पहिलो पटक अलिअलि तयारी थियो, तर ‘Inder’ र ‘इन्द्र’ नामको चक्करले गर्दा चेकजाँचमा बसेका एक मामाले कागज मिलेन भनेर गेटबाटै फर्काइदिए। म भित्रभित्रै रिसाउँदै फर्किएँ। अर्को पटक भने तयारी नै थिएन, कस्ता-कस्ता बलिया प्रतिस्पर्धी भएको ठाउँमा म लाहुरे हुन कसरी सक्नु!

यही बेला मैले पोखराको SOS Hermann Gmeiner School बाट प्लस टु सकें। खासमा SOS पढेको एमबीबीएस गर्ने सोचले थियो, तर प्लस टु सकेपछि डाक्टर हुने रहर हरायो। इन्जिनियरिङबारे खासै रुचि थिएन। के गर्ने, कसो गर्ने भन्दाभन्दै ब्याचलर भर्ना हुने समय पनि बितिसकेछ।

एक अप्रत्याशित मोड: बेलायत यात्रा

यस्तै उतारचढावबीच, काठमाडौंमा ACCA पढिरहेको मेरो प्लस टुको साथी सरोज बरालसँग सल्लाह लिन गएँ। उसको सल्लाह मलाई ठिक लाग्यो र ACCA पढ्ने निधो गरें। त्यतिबेला UK को लागि Tier 4 भिसा सजिलो भएको कुरा व्यापक थियो, (अहिले ‘भाइरल’ थियो भन्छन्)। मलाई बेलायत जाने खासै रहर त थिएन, तर साथीभाइको प्रभावले "लौ त, जाबो के नै जान्छ र!" भनेर प्रोसेसिङमा लागें। नभन्दै, मलाई उस्काउने सरोज लगायतका साथीहरूभन्दा पहिले नै मेरो भिसा लाग्यो र सन् २००९ मा म लन्डन पुगें।

टिभीमा देखेको विदेश ठूला-ठूला बिल्डिङ, भिडभाड, रङ्गीचङ्गी होला भन्ने सोचेको थिएँ, तर बेलायत त्यस्तो रहेनछ। नेपालकै जस्ता साना-साना तर व्यवस्थित घर देख्दा र मित्र रामराज तिमिल्सिनाले व्यवस्थापन गरेको कोठामा एयरपोर्टदेखि जाँदा म ‘कस्तो ठाउँमा आइएछ’ भनेर निराश भएको थिएँ।

‘संगत गुना को फल’ भन्ने कुरा मेरो जीवनमा साबित भयो। डाक्टर बन्ने सोचले प्लस टु पढाइ सुरु गरेको मान्छे, संगत र परिस्थितिले बेलायतमा ACCA पढ्न पुगें। आफूले सोचेको एउटा हुन्छ, तर आफ्नो वरिपरिको वातावरण र साथीभाइको प्रभावले नतिजा फरक पारिदिँदो रहेछ। विदेश नजाने भनेर पढाइ सुरु गरेको म, अन्त्यमा बेलायततिरै लागें। आजभोलि व्यापार-व्यवसाय, उद्यमशीलता तथा अन्य धेरै कुरामा ‘मेन्टरसिप’को भूमिका कति महत्त्वपूर्ण रहेछ भन्ने लाग्छ। सायद यही कारणले पश्चिमा मुलुकमा यसको ठूलो महत्त्व छ। जे होस्, यही अनुभवका कारण आजभोलि कुनै युवाहरू मसँग परामर्श लिन आउँदा, म उनीहरूको व्यक्तिगत रुचि, शिक्षा र दक्षतालाई आधार मानेर रचनात्मक मार्गनिर्देशन दिनुका साथै आफ्नो मूल उद्देश्य नछोड्न पनि सुझाउँछु।

पहिलो रेल यात्रा र त्यो अपरिचित ‘गोरा’

म अलि बढी नै आत्मविश्वास भएको मान्छे थिएँ। मेरो भेना ब्रिटिश लाहुरे र दिदी लाउरेनी हुनुहुन्थ्यो। त्यसैले लन्डन पुगेको धेरै नहुँदै, क्लास सुरु हुनुअघि नै म दिदीको घर Chippenham जान निस्किएँ। त्यो मेरो पहिलो रेल यात्रा थियो। लन्डन प्याडिङ्टन स्टेसनबाट Wiltshire हुँदै दिदीको घरतिर लागें।

यात्रामा मसँगै बसेको एक ‘गोरा’ ल्यापटपमा केही बनाउँदै थियो। मैले सोधें, "Are you a designer?" उसले खासै वास्ता गरेन, "होइन" मात्र भन्यो र ल्यापटप लुकायो। मलाई पनि के बाल भयो र, म चुपचाप बाहिरको दृश्य हेर्दै बसें र रेल अगाडि बढिरह्यो।

जब पहिलो कफी अर्डर गर्दा ठगिएँ जस्तो लाग्यो

दिनभरि केही खाएको थिइनँ क्यारे, मलाई बेस्सरी भोक लागेको थियो। यसो यताउता हेर्दा रेस्टुरेन्टको संकेत देखें र केही खानुपर्‍यो भनेर त्यतै लागें। त्यहाँ कफी र खाजा पाइने सानो क्याफे रहेछ। लाइनमा बसेर अर्डर गर्ने बेला आयो, अनि म झसङ्गै भएँ। कफी कहिँ कतै खाइयो होला, तर त्यसरी मेनुमा यति धेरै विकल्प देख्दा कुनचाहिँ ठीक हो, पत्ता लगाउनै सकिनँ। सायद त्यो मेरो पहिलो ‘फेस-टु-फेस’ कफी अर्डर थियो।

यसो हेरें, ‘एस्प्रेसो’ (Espresso) अलि सुनेको जस्तो लाग्यो र त्यही अर्डर गरें, साथमा एउटा स्यान्डविच पनि किनें।

केहीबेरमा उसले भन्यो, "Your coffee is ready, sir." म लिन गएँ, तर कफीको कप उचाल्दा त मेरो होसै उड्यो! यत्रो ठूलो कपमा पिँधमा अलिकति मात्र कफी!

मलाई लाग्यो, ‘यसले मलाई गिज्यायो!’ पहिलो पटक रेल चढेको, अर्डर गर्दा अलमलिएको देखेर यसले पक्कै मलाई मजाक गर्‍यो भन्ने मनमा आयो, तर केही जवाफ दिन सकिनँ। चुपचाप कप लिएर यताउता पानी थप्ने ठाउँ होला कि भनेर हेरें, केही देखिनँ। छेउछाउका गोराहरूले मेरो हस्याङफस्याङ देखेर झन् जिस्काउलान् भन्ने डरले म आफ्नो सिटमा गएर बसें।

यो ब्लग nepalkhabar.com HK Edition मा जेठ १३, २०८३ बुधबार १३:२८ बजे प्रकाशित भएको थियो।

https://nepalkhabar.com/blog-hk/275985-2026-5-27-13-28-25

स्यान्डविच खाएँ र कफी पिएँ।

आम्मा हो, कस्तो तितो! मनमनै सोच्न थालें, "यति जाबो दुई थोपा, नमिठो कफीलाई पनि कति पैसा परेको होला? यसले मलाई मजाक नै गरेको हो!"

त्यही तितो अनुभव र ठगिएको महसुस गर्दै म दिदीको घरतिर लागें।

यो मेरो जीवनको एउटा बिर्सन नसक्ने क्षण हो, बेला-बेला सम्झन्छु अनि मुसुक्क हाँस्छु।

Follow Inder Pun on Social Media

Get notified with new blog, stories and travel guides.